• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

चितवन उद्योग संघद्वारा राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बधाई ज्ञापन एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल

2024-03-27
चितवन उद्योग संघद्वारा राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बधाई ज्ञापन एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल

भरतपुर/चितवन उद्योग संघले राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष माननीय नारायण दाहाललाई बधाई ज्ञापन एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल सम्पन्न गरेको छ ।

चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै संघका परियोजनाहरुको बारेमा संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो ।

अध्यक्ष दाहाललाई संघको तर्फबाट सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्न आफ्नो तर्फबाट सक्दो प्रयास रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा सम्पूर्ण जनतालाई राहत पुग्ने खालको कानुन निर्माणका लागि आफ्नो पहल रहने साथै औद्योगिक नीति निर्माणमा समेत आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले उद्योग र यसका नीतिगत सुधारका पक्ष र पूर्व अध्यक्ष भेषराज दुवाडीले उद्योग संघले शुरु गरेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, जुरेथुम्का औद्योगिक शिक्षालय र शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफ्नो सुझावहरु राख्नुभएको थियो ।

फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै दाहाल पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो ।

बधाई एवम् छलफल कार्यक्रममा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु गोविन्द्रप्रसाद खनाल, अनिल अग्रवाल, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चका अध्यक्ष सृजना सोती, कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, संघका कार्यसमिति सदस्य शेषमणी भट्टराई, महिला उद्यमी मञ्चका उपाध्यक्षहरु सरिता खनाल पौडेल, कविता श्रेष्ठ, संघका सञ्चार अधिकृत राजु भट्ट, पाठशाला अधिकृत कल्पना आचार्य लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।